गोर्खा मिडियाका रवि, छवि र जीबीसहित चार जनालाई कारबाही गर्न छानविन समितिको सिफारिस (पूर्णपाठसहित)

होमल्याण्ड खबर

२०८१ भाद्र ३१ गते, सोमबार १६:४७ मा प्रकाशित

सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले सहकारीमार्फत गोर्खा मिडियामा आएको रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेका अध्यक्ष गितेन्द्रबाबु राई, सदस्य कुमार रम्तेल, तत्कालीन प्रबन्ध निर्देशक रवी लामिछाने र सञ्चालक छविलाल जोशीलाई कारबाहीको सिफारिस गरेको छ ।

कुनै पनि कम्पनीको आफ्नै उद्देश्य र मर्म हुने भएकाले कम्पनीका सञ्चालक वा शेयरहोल्डरहरू त्यस्तो संस्थामा मुख्य जिम्मेवार हुनुपर्ने समितिको निश्कर्ष छ । शेयर सदस्य, सञ्चालक सदस्य र प्रबन्ध निर्देशकको भूमिका र जिम्मेवारीमा रहेका पात्रहरूले कम्पनीमा प्राप्त हुने रकमप्रति जिम्मेवारी र दायित्वबोध गर्नैपर्ने समितिको ठहर छ ।

‘खातावाल हस्ताक्षरकर्ताहरू जसले खाता सञ्चालन अर्थात् वित्त परिचालनमा सहभागी हुन्छन्, त्यसवापत दायित्व ग्रहण ग्रहण गर्नु पर्दछ । सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडया नेटवर्क प्रालि।को खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवी लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानून बमोजिम कारवाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने,’– प्रतिवेदनमा भनिएको छ ।