क्यानडासँग नेपालको लज्जास्पद हार

होमल्याण्ड खबर

२०८१ आश्विन १ गते, मंगलवार ०८:०६ मा प्रकाशित

आईसीसी क्रिकेट वर्ल्डकप क्रिकेट लिग–टुमा नेपालले क्यानडासँग लज्जास्पद हार ब्यहोरेको छ। नेपाल आयोजक क्यानडासँग १०३ रनले पराजित भयो।

नियमित अन्तरमा विकेट गुमाएको नेपालका लागि सन्दीप लामिछानेले २२ र ओपनर आसिफ सेखले २० रन बनाए। क्यानडेली बलरमध्ये डिलन हेलिगर घातक सावित भए र उनले ३१ रन खर्चेर पाँच विकेट लिए।

उनले नेपालका दुवै ओपनरलाई आफ्नो शिकार बनाए। यस्तै अखिल कुमार र अनस पटेलले दुईरदुई विकेट लिए।

यसअघि क्यानडाका लागि कप्तान निकोलस क्रिर्टनले सर्वाधिक ७७ रन बनाए र नटआउट रहे। उनले ४४ बलमा तीन चौका र छ छक्का प्रहार गरे। यस्तै ओपनर नवनीत धालिवालले ४८ रनको योगदान दिए। हेलिगर ब्याटबाट पनि चम्के र उनले ३० रन बनाए। उनी नै ‘प्लेयर अफ द म्याच’ भए। नेपाली बलरमध्ये सोमपाल कामी र ललित राजवंशीले दुई–दुई विकेट लिए।

लिग–टुमा नेपालको यो पाँच खेलमा चौथो हार हो र टिमले दुई अंक मात्रै बटुल्न सकेको छ। यो नेपालको लगातार तेस्रो हार पनि हो।

क्यानाडाले भने प्रतियोगितमा लगातार चार हारको क्रमलाई रोक्दै नौ खेलमा पाँचौँ जित निकालेको छ। अब उसको दस अंक भएको छ र लिग तालिकाको दोस्रो स्थानमा उक्लेको छ। नेपाले अब अर्को खेल भोलि ओमानसँग खेल्नेछ।