आज जोर नम्बरका सवारीको पालो

होमल्याण्ड खबर

२०७५ मंसिर १४ गते, शुक्रबार ०९:३६ मा प्रकाशित

शुक्रबारदेखि सुरू हुने एसिया प्यासेफिक समिटका लागि काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले ४ दिन सवारी साधनमा जोर बिजोर प्रणाली लागु गरेको छ ।

सवारी आवागमनलाई व्यवस्थित बनाउन बिहिबारदेखि सुरु भएको जोर विजोर प्रणाली अनुसार शुक्रबार जोर नम्बरका गाडी मात्र गुडीरहेका छन् ।

तीन देशका राष्ट्रपतिसहित ४५ देशका ५६७ जना पाहुना आउने भएपछि उनीहरूको आवतजावतलाई सहज बनाउन ट्राफिक प्रहरीले नागरिकका सवारीमा जोरबिजोर प्रणाली लागू गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले जनाएको छ ।

महाशाखाका अनुसार, मंसिर १३ गते बिहिबार र मंसिर १५ गते शनिबार नम्बर प्लेटको अन्तिम अंक विजोर (१,३,५,७,९) भएका गाडीमात्रै चल्न पाउनेछन् भने मंसिर १४ गते शुक्रबार र मंसिर १६ गते आइतबार जोर (०,२,४,६,८) अंक भएका गाडी मात्रै चल्न पाउनेछन् ।

साथै महाशाखाले अत्यावश्यक र शैक्षिक संस्थाका सवारी साधनमा भने जोर विजोर प्रणाली लागू नहुने बताएको छ ।

बिहीबार बिजोर नम्बरका गाडी मात्रै गुडेकाले आफ्नो गन्तव्यमा हिंडेका यात्रुहरुले हैरानी खेप्नु परेका थिए ।