घटस्थापनापछिका ७० प्रतिशत हवाई टिकट बुक, कहाँ काे भाडा कति ?

होमल्याण्ड खबर

२०८१ आश्विन ११ गते, शुक्रबार १५:२१ मा प्रकाशित

दसैँ आउन अब दुई हप्ता मात्रै बाँकी छ । यातायात व्यवसायीहरूले भोलि (शनिबार)देखि दसैँको टिकट बुकिङ गर्ने भएका छन् । यसैबिच हवाई यात्राका लागि धेरै यात्रुले भने टिकट बुक गरिसकेका छन् । एयरलाइन्स कम्पनीहरूले दिएको जानकारीअनुसार यात्रुले एक महिना अघिदेखि दसैँको लागि टिकट बुक गर्न थालिसकेका थिए ।

घटस्थापनादेखि एक साता पछिका टिकट सबैभन्दा धेरै बिक्री भएका छन् । घटस्थापनापछिका ७० देखि ७५ प्रतिशत टिकट बुक भइसकेको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले जानकारी दिए । ‘हवाई यात्राका लागि न्यूनतम र अधिकतम भाडा तय गरिएको हुन्छ,’ उनले भने, ‘सुरुमा काट्दा न्यूनतम भाडामै पाइने हुनाले धेरैले पहिले काटेको हुनसक्छ ।’

अधिकांश टिकट अनलाइनबाटै बिक्री हुने कारणले गर्दा एयरलाइन्स कम्पनीहरूले दसैँका लागि अग्रिम बुकिङ खुलाउँदैनन् । यही कारण यात्रुले धेरै पहिले सस्तो टिकट काटिसकेको देखिन्छ । यसले गर्दा घटस्थापनादेखि फूलपातीसम्म कुनै पनि गन्तव्यका लागि न्यूनतम दरमा टिकट अब पाइने छैन ।

उदाहरणका लागि काठमाडौँबाट नेपालगञ्जका लागि सरकारले न्यूनतम ६ हजार ६०० र अधिकतम १३ हजार २६४ रुपैयाँ तोकेको छ । घटस्थापना (१७ गते) पछिका दिनमा ७ हजार ५०० भन्दा माथिका टिकट मात्रै बाँकी छन् । त्यस्तै २२ गतेपछिका लागि ९ हजार ५०० भन्दा माथिका केही टिकट मात्रै छन् ।

न्यूनतम र अधिकतम तोकिएको तथा यात्रुले छनोट गरेर आफैँ काट्ने भएका कारण एयरलाइन्सले भाडा बढाए भनेर अफवाह फैलाइएको पनि कर्णले बताए । ‘तोकिएभन्दा बढी एक रुपैयाँ लिन मिल्दैन, पहिले बुक गर्नेले सस्तो छनोट गरेपछि महँगो मात्रै बाँकी हुने भयो । यसमा एयरलाइन्सको कुनै भूमिका हुँदैन,’ कर्णले भने ।

सामान्य दिनमा पनि काठमाडौँबाट पोखरा, नेपालगन्ज, भैरहवा, धनगढी, विराटनगर लगायतका गन्तव्यमा दर्जनौँ उडान भइरहेका छन् । दसैँको बेला यी गन्तव्यमा यात्रुको चाप झन् बढ्छ । सबै गन्तव्यमा टिकट बुकिङ भइरहे पनि टिकटको अभाव भने नहुने एयरलाइन्स कम्पनीहरूले जनाएका छन् । ‘अहिले नै उडान थप गर्ने निश्चित भइसकेको छैन । तर विगतका वर्षको अनुपातलाई हेर्दा टिकट नै नपाउने अवस्था आउँदैन,’ कर्णले भने ।

untitled-1_kRsbpkZk1E