दशैँका लागि आजदेखि सुकिला नोट साट्न पाइने

होमल्याण्ड खबर

२०८१ आश्विन १३ गते, आईतवार १२:४६ मा प्रकाशित

नेपाल राष्ट्र बैंकले दसैँलाई लक्षित गरी सर्वसाधारणका लागि आजदेखि सफा र सुकिलो बैंक नोट सटही सुविधा दिन थालेको छ ।

राष्ट्र बैंकका सहायक प्रवक्ता डा डिल्लीराम पोख्रेलका अनुसार राष्ट्र बैंकको केन्द्रीय तथा प्रादेशिक कार्यालय र सबै बैंक तथा वित्तीय संस्थाका शाखाबाट यही असोज २२ गतेसम्म सफा नोट साट्न सकिनेछ ।

“नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज तथा धनगढीस्थित कार्यालयबाट सुकिलो नोट साट्न सकिनेछ । त्यस्तै, बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट समेत नोट सटही गर्ने व्यवस्था मिलाइएको छ”, पोख्रेलले भने ।

राष्ट्र बैंकका अनुसार सर्वसाधारणले आफ्नो खाता रहेको बैंक वा पायक पर्ने नजिकको जुनकुनै बैंक तथा वित्तीय संस्थामा गएर सुकिलो नोट साट्न सक्नेछन् । एकजना व्यक्तिले रु पाँच, दश, बीस, पचास र एक सय दरका नोटसहितको रु १८ हजार पाँच सयसम्म साट्न पाउनेछन् ।

राष्ट्र बैंकले विगतका वर्षका एकपटक पनि प्रयोगमा नआएका नयाँ नोटको सटही दिने गरेकोमा यसपटक भने प्रयोगमा आइसकेका सुकिलो र सफा नोट साट्न सकिने जनाएको छ । दसैँ अगाडि सटही गरिएका नोट चाडबाड सकिएपछि बैंक तथा वित्तीय संस्थामा फिर्ता आउने र त्यसपछि ती नोटको माग ज्यादै न्यून हुने भएकाले ढुकुटीमा लामो समय थन्क्याएरै राख्नुपर्ने अवस्था रहेको राष्ट्र बैंकले जनाएको छ ।