एक हजारभन्दा बढी यात्रु बस बसपार्कबाट छुट्न थाले

होमल्याण्ड खबर

२०८१ आश्विन १४ गते, सोमबार १६:१७ मा प्रकाशित

काठमाडौंबाट विभिन्न जिल्लाका लागि छुट्ने सार्वजनिक सवारीहरु सञ्चालन हुने भएको छ । काठमाडौँको नयाँ बसपार्कलगायत विभिन्न स्थानबाट केही बेरअघिदेखि सवारी साधनहरू गन्तव्यका लागि छुट्न थालेका हुन् ।

बसहरुले टिकट बेच्न थालेपछि नयाँ बसपार्कमा अहिले काठमाडौंबाट विभिन्न जिल्लामा जाने यात्रुको भीड छ । चार दिनदेखि निरन्तर सडक अवरुद्ध हुँदा एक हजारभन्दा बढी सवारी साधनमा यात्रुले टिकट काटेर पनि रोकिएका थिए ।

उनीहरूलाई गन्तव्यमा पुर्‍याउन थालिएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए । सोमबार छुट्ने गाडी सहजतापूर्वक गन्तव्यमा पुग्न सके अहिले सुस्त रहँदै आएको टिकट बुकिङमा उत्साह थपिने यातायात व्यवसायीको विश्वास छ ।

त्यस्तै,प्रहरीका अनुसार अरनिको राजमार्ग भएर जाने दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रे लगायतकाबाहेक अन्य सबैजसो जिल्लाका लागि छुट्ने सार्वजनिक बसहरु छुट्न थालेका हुन् ।

त्रिभुवन राजपथ, पृथ्वीरामार्ग, नारायणगढ मुग्लिन र पूर्वपश्चिम राजमार्ग भएर विभिन्न जिल्लामा जाने यात्रुबाहक सवारीहरु छुट्ने छन् ।