२९ कार्तिक २०८१, बिहीबार
प्रस्तावित प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतविरुद्ध ६ वटा उजुरी परेको छ । संसदीय सुनुवाइ समितिले १० दिनको समय दिएर उजुरी आह्वान गरेको थियो । सो समयभत्र राउतविरुद्ध अमेरिकादेखि बाजुराका एक स्थानीयसम्मले उजुरी दर्ता गराएका हुन् ।
राउतविरूद्ध चितवनकी शुभलक्ष्मी थपलियाले आफ्नो संवैधानिक हक नै मासेर उठिबास लाग्ने गरी त्रुटिपूर्ण फैसला गरेकाले प्रधान न्यायाधीशमा अनुमोदन गर्न नहुने मागसहित उजुरी दिएकी छन् ।
उनले राजमार्गमा परेका कारण आफ्नो ११ आना जग्गा गुमेको र बाँकी रहेको ३ आना जग्गा पनि राउतकै फैसलाले गुमाएको दाबी गरेकी छन् । २०८० साल चैत १५ गते चितवन हाजीपुरमा ११ आना जग्गा राजमार्गमा परेको र ३ आना जग्गा जग्गाको सवालमा उठिबास लाग्ने गरी त्रुटिपूर्ण फैसला भएको उनको दाबी छ ।
त्यस्तै अमेरिकाबाट नेपाली सेनाका अवकाश प्राप्त सेनानी प्रज्वल बस्नेतले सैनिक ऐनको गलत व्याख्या गरेको भनी राउतविरुद्ध उजुरी दर्ता गराएका छन् । बाजुराका गगन ऐडीले न्यायाधीश राउतले पक्षपातपूर्ण व्यवहारका साथै राजनीतिक आस्थाका आधारमा फैसला तथा आदेश दिने गरेको आरोप लगाएका छन् ।
ऐडीले राउतसँग कार्यक्षमता अभाव भएको र प्रमाण मूल्याङ्कन गर्ने क्षमता नै नभएको दाबी गरेका छन् । त्यसैगरी अर्का एक उजुरीकर्ताले राउतको दाम्पत्य जीवन विवादित रहेको भन्दै उनलाई अनुमोदन गर्न नहुने मागसहित उजुरी दिएका छन् ।
अन्य दुई उजुरीकर्ताले भने प्रधान्यायाधीश राउतविरूद्ध व्यक्तिगतभन्दा पनि अदालत सुधारको विषयलाई उठाएका छन् ।