९ मंसिर २०८१, आईतवार
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार प्रतिद्वन्द्वीलाई खोजीखोजी फसाउने खेलमा लागेको टिप्पणी गरेका छन् ।
माओवादी पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकार आफ्नालाई बचाउने र प्रतिद्धन्द्धीलाई हान्ने खेलमा लागेको बताएका हुन् ।
उनले भने, ‘हामीले के माओवादी, के कांग्रेस, के एमाले कुनै दल नहेरेर गल्ती गरेको छ भने सबैलाई कानुनबमोजिम ल्याउनुपर्छ भनेर लाग्यौं । तर अहिलेको सरकार कांग्रेस र एमालेका नेताले गल्ती गरेको छ्याङ्गै देख्दा पनि बचाउनतिर लाग्यो । आफ्नो राजनीतिक प्रतिद्वन्द्वी देखेपछि खोजीखोजी हान्नथालेको छ ।’
आफ्नो नेतृत्वको सरकारले सुशासनका पक्षमा कसैको दल र अनुहार नहेरेर कारवाही गरेको तर अहिलेको सरकार प्रतिद्वन्द्वीलाई मात्रै प्रहार गर्ने गरी अघि बढेको उनको भनाई छ । प्रचण्डले सरकारले गर्नुपर्ने काम नगरेको तर गर्न नहुने काममा बढी ध्यान दिएको आरोप लगाए ।
भ्रष्टाचारीलाई बचाउन नयाँ समीकरण बनेको जनताले राम्ररी बुझेको उल्लेख गर्दै प्रचण्डले अब सरकारका गलत कार्यको भण्डाफोर गर्दै लैजानुपर्नेमा जोड दिए ।