९ मंसिर २०८१, आईतवार
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको सय दिनको कामप्रति कांग्रेस सन्तुष्ट रहेको बताएका छन् ।
सभापति देउवाले सबै किसिमबाट सरकारले गति लिएको बताए । विपद् व्यवस्थापन र राहत, उद्धारमा सरकारले कामै गरेन भनेर भ्रम फैल्याइएको उनले बताए ।
राहत तथा खोजी उद्धारमा सरकारले आफ्नो हिसावले सुरक्षाकर्मीहरू तैनाथ गरी व्यवस्थापन गरेको बताए । वर्तमान सरकार पूरा कार्यकाल जाने र एमाले—कांग्रेसको सरकार बनेको दिनदेखि दुई वर्ष प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व गर्ने र बाँकी डेढ वर्ष आफूले नेतृत्व गर्ने बताए ।
उनले भने, ‘अब मलाई त राम्रो लाग्छ, धेरै कुराले गर्दा राम्रो छ । सय दिनलाई मैले त राम्रो मानेको छु । सय दिनलाई हनिमुन डेज भन्छन् नि । राम्रो काम गरेको छ । राम्रो काम गरिरहेको छ, के भएको छ त ? गति पनि लिएको छ ।
बाढी पहिरोमा सरकारले राम्रो उद्धार र खोजी गरेको छ । मान्छे पठाउनुभएको हो, गरेको हो । हेलिकप्टरबाट पनि उद्धार गरेको हो । ठिक छ, त्यस्तो केही छैन, सबैको राम्रो छ सय दिनको काम ।
दुई वर्ष उहाँले चलाउने भनेको हो, डेढ वर्ष मलाई भनेको हो ।’ सभापति देउवाले सानातिना समस्या आफ्नै पार्टीभित्र पनि भइरहने भन्दै अर्को दलसँग मिलेर सरकार बनाउँदा केही समस्याहरू आउनु स्वाभाविक रहेको बताए ।