माओवादीलाई प्रचण्डपन्थी भन्नु उपयुक्त : बाबुराम भट्टराई

होमल्याण्ड खबर

२०८१ कार्तिक १४ गते, बुधबार ११:४० मा प्रकाशित

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का संयोजक डा बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रलाई प्रचण्डपन्थी भन्नु उपयुक्त हुने टिप्पणी गरेका छन् ।

वैचारिक र सांस्कृतिक रूपले स्खलित भैसकेका प्रचण्डले क्रान्तिकारी सारतत्व र इतिहास बोकेको त्यो आन्दोलन र पार्टीलाई आफ्नो निजी संसदीय सत्ता–स्वार्थको साधनमा परिणत गरेपछि यो दुर्दशा भएको बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले टिप्पणी गरेका हुन् ।

माओवादी आन्दोलन केही कमीकमजोरीसहित आधुनिक नेपाल राज्य बने यताकै क्रान्तिकारी र रूपान्तरकारी आन्दोलन भएको र ०७२ सालमा संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएसँगै ऐतिहासिक कार्यभार पुरा गरेको भट्टराईले लेखेका छन् ।

‘अब प्रचण्डले नेतृत्व गरेको गुटलाई ‘माओवादी’ भन्नुभन्दा ‘प्रचण्डपन्थी’ भन्नु उपयुक्त होला। किनकि माओवादी आन्दोलन केही स्वाभाविक कमीकमजोरी सहित आधुनिक नेपाल राज्य बने यताकै सबभन्दा क्रान्तिकारी र रूपान्तरणकारी आन्दोलन थियो, जसले २०७२ असोज ३ गते जननिर्वाचित संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएसँगै आफ्नो ऐतिहासिक कार्यभार र औचित्य पूरा गरिसकेको छ । परन्तु वैचारिक र सांस्कृतिक रूपले स्खलित भैसकेका प्रचण्डले क्रान्तिकारी सारतत्व र इतिहास बोकेको त्यो आन्दोलन र पार्टीलाई आफ्नो निजी संसदीय सत्ता–स्वार्थको साधनमा परिणत गरेपछि यो दुर्दशा भएको हो’, उनले लेखेका छन् ।

भट्टराईले संविधान जारी पछिको आन्दोलनलाई आफ्नो प्रस्ताव अनुसार नयाँ युगको नयाँ कार्यभार (आर्थिक–सामाजिक) रूपान्तरण पूरा गर्न बेलैमा नयाँ समाजवादी आन्दोलन र पार्टीमा रूपान्तरण गर्नु पर्नेमा प्रचण्डकै कारण दुर्दशा भएको आरोप लगाए ।

उनले प्रचण्डको पार्टीको संसदीय सिट संख्या ३२ नभई ३० भएको उल्लेख गरेका छन् । २०७९ को निर्वाचनमा नेसपाका उम्मेदवारले साझा चुनावचिन्ह लिएर जितेको २ सिटलाई समेत कानुनी छिद्रमा टेकेर प्रचण्डले आफ्नो दाबी गरेको भट्टराईले स्पष्ट पारेका छन् । साथै गोरखा र सर्लाहीका निर्वाचन क्षेत्रमा नेसपाको उल्लेख्य मत जोडेर मात्र बढी देखिएको उनले दाबी गरेका छन् ।