८ मंसिर २०८१, शनिबार
माओवादीले आगामी मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनका लागि आफ्ना उम्मेदवार टुंगो लगाएको छ । सोमबार बसेको पदाधिकारी बैठकले प्रदेश, जिल्ला तहबाट आएका सबै सिफारिसलाई अनुमोदन गरेको हो ।
यसअघि पदाधिकारी बैठकले उपनिर्वाचनका लागि सहकार्यको विकल्प खुला राखे पनि माओवादीले उपनिर्वाचनमा गठबन्धन नगर्ने जनाएको छ ।
माओवादीले मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष उम्मेदवारमा नामेनारायण माझी, काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुखमा शिवशरण महर्जन, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा निमलेकी शेर्पा, रुकुमपूर्वको पुथा उत्तरगंगा उपाध्यक्षमा ज्ञानदेवी पुन, जाजरकोटको नलगाड नगरपालिका उपप्रमुखमा देवका लामिछाने र दैलेखको महाबु गाउँपालिका अध्यक्ष उम्मेदवारमा जंग बराललाई अनुमोदन गरेको छ ।
विभिन्न पालिकाका रिक्त ३४ वडाध्यक्षका उम्मेदवार पनि माओवादीले टुंगो लगाएको छ । पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकमा उपनिर्वाचनमा सफलता हासिल गर्न योजनाबद्ध कार्यक्रम बनाउने निर्णय भएको जानकारी दिए ।
माओवादीले पालिकाको चुनावी प्रचारमा केन्द्रीय पदाधिकारी पठाउने निर्णय गरेको छ । वडाको चुनाव प्रचारमा केन्द्रीय सदस्य सहभागी हुनेछन् । माओवादीले कात्तिक मसान्तसम्म उपनिर्वाचन हुनेलगायत सबै पालिकामा सम्मेलन गरिसक्ने निर्णय गरेको छ ।
‘पालिकाको सम्मेलन र खबरदारी सभा एकैसाथ लैजाने निर्णय भएको छ,’ सापकोटाले जानकारी दिए, ‘खासगरी सरकारको गलत कामको भन्डाफोर गर्छौं ।’