८ मंसिर २०८१, शनिबार
नेपाल–बंगलादेश ‘ऊर्जा संयन्त्र’को बैठक काठमाडौंमा सुरु भएको छ । बंगलादेशसँग ऊर्जा सहयोगसम्बन्धी हस्ताक्षर भएपछि त्यसलाई कार्यान्वयनमा लैजान ‘संयुक्त कार्य समूह’को पहिलो बैठक काठमाडौंको हायत होटलमा आजबाट सुरु भएको हो ।
बैठकको पहिलो दिन सोमबार सहसचिव स्तरीय ‘संयुक्त कार्य दल’को बैठकको नेतृत्व नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरे र बंगलादेशको तर्फबाट त्यहाँको विधुत्, ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका सहसचिव शैख फैजुल अमिनले गरेका छन् ।
बैठकमा अन्तरदेशीय प्रशारणलाइन, विधुत् व्यापारको मोडालिटी, जलविधुत्मा बंगलादेशको लगानी, माथिल्लो कर्णालीको विधुत् खरिद र नवीकरणीय ऊर्जामा सहकार्य गरी ५ वटा मुख्य एजेन्डामा छलफल हुने उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव घिमिरेले जानकारी दिएका छन् ।
बंगलादेशका विधुत्, ऊर्जा तथा खनिज स्रोत सहसचिव अमिनले बैठकमा नेपालको जलविधुत् क्षेत्रमा गर्ने लगानीका विषयमा विस्तुत छलफल हुने बताए ।
दुवै मुलुकबीच उर्जा व्यापार र लगानीको सम्बन्धमा गरिएको सम्झौता कार्यान्वयनका लागि बैठक सुरु भएको हो । आजको बैठकले एजेन्डा तय गरेपछि भोलि पुनः दुवै देशका ऊर्जासचिव स्तरीय बैठक बसी त्यसलाई मूर्तरुप दिने योजना रहेको छ । गत भदौमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन बंगलादेश भ्रमणका गएको बेला दुई मुलुकबीच उर्जा क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल गर्ने समझदारी गरिएको थियो । सोही समझदारीलाई अघि बढाउन दुई मुलुकबीचको उर्जा संयन्त्रको बैठक काठमाडौंमा सुरु भएको हो ।
बैठकमा बंगलादेशले नेपालको जलविद्युत् र नेपालले बंगलादेशबाट खाना पकाउने ग्यास खरिद गर्ने मोडालिटीका विषयमा पनि छलफल हुने उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।