८ मंसिर २०८१, शनिबार
नेपाली कांग्रेसले नेपाली कांग्रेसकी नेतृ एवम् गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको निधनप्रति दुःख व्यक्त गरेको छ ।
पार्टीको भ्रातृ संस्था नेपाल महिला सङ्घ म्याग्दीकी पूर्वअध्यक्षसमेत रहेकी गौचनको डेँगीको उपचारका क्रममा काठमाडौँको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा गएराती निधन भएको थियो । उनी राजनीतिसँगै सफल पर्यटन व्यवसायीसमेत थिइन् ।
गौचनले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन् । गौचनको निधनबाट नेपाली कांग्रेसले एक अनुभवी महिला नेतृत्वलाई गुमाएको कांग्रेसले जनाएको छ । प्रदेशसभा सदस्य गौचनको निधनप्रति कांग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । सभापति देउवाले शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन्।