३० कार्तिक २०८१, शुक्रबार
पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रणनीतिक योजना अघि बढाउनुपर्ने बताएका छन । सभापति देउवाको प्रमुख आतिथ्यमा बिहीबार नेपाली कांग्रेस जिल्ला कार्य समितिको बैठकमा उनले डडेलधुरालगायत सुदूरपश्चिम प्रदेश भरि विकासका लागि सरकारले सुरु गरेका रणनीतिक योजना तत्काल अघि बढाउनु पर्ने बताएका हुन ।
पश्चिमसेती जलविद्युत योजना, डडेल्धुरामा हवाई मैदान, दैजी–लिप्ना–जोगबुडा–चिर्किट्टे–पोखरा बेलापुर बझाङ जोड्ने सडक, उग्रतारा मेलौली सडक, डडेलधुरा मेडिकल कलेज लगायतका योजना अगाडि बढाउन सबैले लाग्नुपर्ने बताए।
सरकारका रणनीतिक योजनामा कांग्रेसले सघाउनु पर्ने भन्दै उनले नेता कार्यकर्तालाई निर्देशन दिएको कांग्रेस जिल्ला कार्य समिति डडेलधुराका सचिव हेमराज चटौतले जानकारी दिए । उनका अनुसार कञ्चनपुरको दोधारा चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाहको कामले पूर्णता पाउने गरी सरकारले काम गरिरहेको बताएका थिए ।
बैठकमा कांग्रेसको सय दिने सङ्कल्प यात्राबारे चर्चा भएको थियो । सभापति देउवाले सङ्कल्प यात्राको उद्देश्यअनुसार काम गर्न नेता कार्यकर्तालाई निर्देशनसमेत दिएको उनले बताए ।
कांग्रेस पार्टीको नेतृत्वमा देशमा प्रजातन्त्र आएको उल्लेख गर्दै उनले लोकतन्त्र र सङ्घीयताको रक्षाका लागि कांग्रेस नेता कार्यकर्ताले अहम् भूमिका खेल्नुपर्ने बताए ।
कात्तिक २६ गते गृह जिल्ला डडेलधुरा पुगेका देउवा विभिन्न देवीदेवताको पूजाआजा दर्शनसँगै कार्यकर्ता भेटघाटमा व्यस्त रहेका छन । यहाँका स्थानीय तहका जनप्रतिनिधि, कार्यकर्ता एवं विभिन्न राजनैतिक दलहरूले जनताका सहजताका लागि विभिन्न माग राख्दै योजनाहरू निर्माण गर्न मागपत्र बुझाएका छन ।
बिहीबार कांग्रेस जिल्ला कार्यसमितिको बैठकपछि सभापति देउवा अजयमेरु गाउँपालिका –१ पुइलेक र २ को चमडामा पुगी कार्यकर्तासँग भेटघाट गरेको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए। उनका अनुसार शुक्रबार सभापति देउवा जन्मथलो गन्यापधुरा गाउँपालिका –१ रुवाखोलामा रहेको असियु देवताको पूजाआजा गर्ने कार्यक्रम रहेको छ ।