आकाशको अर्धशतकमा नेपाल यू१९को जित, सिरिजमा बराबरी

होमल्याण्ड खबर

२०८१ कार्तिक ३० गते, शुक्रबार १५:५६ मा प्रकाशित

कर्नाटक यू–१९ विरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा आयोजक नेपाल यू–१९ टोलीले ७ विकेटको जित निकालेको छ ।

शुक्रबार भएको खेलमा कर्नाटकले दिएको १ सय २२ रनको लक्ष्य नेपालले २५औँ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो ।

नेपाल यू–१९ टिमका लागि ओपनर आकाश त्रिपाठीले अर्धशतकीय पारी खेले । ७६ बलको सामना गरेका उनले ६ चौकासहित अविजित ५२ रनको पारी खेलेका हुन् । यस्तै, मयन यादवले ३२, नरेन भट्टले १४ र उत्तम थापा नटआउट १२ रन जोडे ।

त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको कर्नाटक यू–१९ टिम ३८.१ ओभरमा १ सय २१ रनमा अलआउट भयो ।

अन्तिम २२ रन बनाउँदा ७ विकेट गुमाएपछि कर्नाटक सस्तैमा समेटिएको हो । उसका लागि रिषाभले ४० र ओपनर प्रतीकले ३७ रन बनाए । बाँकी ब्याटरको प्रदर्शन भने सन्तोषजनक रहन सकेन ।

नेपालका लागि नरेन साउद र हेमन्त धामीले चार/चार तथा सन्तोष यादवले एक विकेट लिए । यो जितपछि पाँच खेलको सिरिज एक/एकको स्थितिमा आएको छ ।

सिरिजको पहिलो खेलमा नेपाल एक विकेटले पराजित भएको थियो । श्रृंखलाको तेस्रो खेल आइतबार हुने तालिका छ । नेपाल आसन्न संस्करणको यू–१९ एसिया कपको तयारीस्वरूप कर्नाटक–१९ सँग खेलिरहेको हो ।

एसिया कपमा नेपालले २९ नोभेम्बरमा श्रीलंका, १ डिसेम्बरमा बंगलादेश र ३ डिसेम्बरमा अफगानिस्तानसँग खेल्ने तालिका छ ।