२ मंसिर २०८१, आईतवार
भ्रष्टाचार मुद्दामा सफाइ पाएका तत्कालीन मुख्यसचिव डा. वैकुण्ठ अर्यालले योजना आयोगमा हाजिर गरेका छन् । आइतबार अर्यालले कार्यालय पुगेर हाजिर गरेका आयोगका सहायक प्रवक्ता डा. दिवाकर लुइँटेलले बताए । आयोगमा उनको विशेष अधिकृत (राजपत्रांकित विशिष्ट श्रेणी, मुख्यसचिवसरह) पद दरबन्दी छ।
सञ्चारसचिव रहँदाको निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्यालसहित ११ जनाविरुद्ध गत ९ असारमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । मुद्दा दायरसँगै अर्याल स्वतः निलम्बनमा पुगेका थिए । यही १४ कात्तिकमा विशेष अदालतले अर्यालउपरको आरोप अस्वीकार गर्दै सफाइ दिने फैसला गरेकाे थियाे । सफाइको फैसलापछि अर्यालको निलम्बन फुकुवा हुन पुगेको थियो ।
अदालतबाट सफाइ पाएर निलम्बन फुकुवा भएपछि पहिलोपटक अर्यालले आयोग पुगेर हाजिर गरेका हुन् । मुद्दा दायरसँगै मुख्यसचिव पद स्वतः निलम्बनमा परेका अर्याललाई राष्ट्रिय योजना आयोगमा विशेष अधिकृत (राजपत्रांकित विशिष्ट श्रेणी, मुख्यसचिवसरह) पद सिर्जना गरी पदाधिकार सोही पदमा सार्ने निर्णय पनि सरकारले गरेको थियो । अर्याललाई आयोगमा स्थानान्तरण गरेपछि रिक्त मुख्यसचिव पदमा सरकारले एकनारायण अर्याललाई ल्याएको थियो ।
भ्रष्टाचार मुद्दामा सफाइ पाएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दरबन्दी कायम रहेको ठाउँमा अर्यालको रमाना पठाइदिएको थियो । तर, अर्याल लामो समय आयोग गएनन् । अदालतबाट सफाइको निर्णय भएको १८ दिनपछि उनी आयोगमा हाजिर भएका हुन् ।