माओवादी आन्दोलन आवश्यक नै थिएन, देशको २० वर्ष समय त्यसमै खर्चियो : प्रदीप ज्ञवाली

होमल्याण्ड खबर

२०८१ मंसिर ४ गते, मंगलवार १६:४८ मा प्रकाशित

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले माओवादीको १० वर्षे आन्दोलनले देशलाई पछि धकेलेको टिप्पणी गरेका छन् ।

शान्ति प्रक्रियाबारेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपालमा माओवादी आन्दोलन आवश्यक नै नभएको जिकिर गरे ।

उनले भने, ‘लोकतन्त्रमा हामीले पाइला चालेको ३५-३६ वर्ष भयो । त्यसमध्ये १० वर्ष सशस्त्र द्वन्द्वमा खर्च गर्‍यौं । नेपालमा त्यो द्वन्द्व आवश्यक थिएन भन्ने पक्षमा अहिलेसम्म पनि म छु, तर त्यो एउटा रियालिटी हो । त्यसलाई राज्यले राजनीतिक मुद्दाको रुपमा लिएर संविधान र विस्तृत शान्ति सम्झौतामा समेत उल्लेख गरेर सशस्त्र द्वन्द्व भनेर समाधान गर्ने बाटो खोजेका छौं । १० वर्ष लामो त्यो द्वन्द्व र त्यसलाई व्यवस्थापन गर्न अर्को दश वर्ष लाग्यो ।’

उपमहासचिव ज्ञवालीले माओवादी आन्दोलन र विस्तृत शान्ति सम्झौतापछिका राजनीतिक मुद्दालाई सफलतापूर्वक व्यवस्थापन गरेको बताए ।