५ मंसिर २०८१, बुधबार
काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको चार महिनामा ३ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । महानगरले साउनदेखि कात्तिक मसान्तसम्म ३ अर्ब १६ करोड ७८ लाख ११ हजार राजस्व संकलन गरेको हो ।
आन्तरिक राजस्व ८ अर्ब ३ करोड ५७ लाख लक्ष्य राखेको महानगरले १ अर्ब ९९ करोड ४६ लाख उठाएको छ । जुन लक्ष्यको २४.७७ प्रतिशत हुन आउँछ ।
महानगर अन्तर्गतको राजस्व विभागका विभागीय प्रमुख दीपक अधिकारीका अनुसार यस अवधिमा महानगरले सबैभन्दा बढी घर बहाल कर उठाएको छ ।
यस शीर्षकमा ९४ करोड ८५ लाख रुपैयाँ उठेको छ भने सम्पत्ति कर ५० करोड ३१ लाख राजस्व संकलन भएको छ । त्यस्तै, चालू आवको चार महिनामा पर्यटन शुल्कबाट ६ करोड ७५ लाख संकलन भएको छ भने अन्य सेवा शुल्कबाट ५ करोड ९६ लाख रुपैयाँ संकलन भएको छ ।
यसका साथै महानगरले नक्सा पास दस्तुरबाट १२ करोड ७ लाख, सिफारिस दस्तुरबाट २ करोड ८८ लाख र व्यवसाय रजिस्ट्रेसन दस्तुरबाट २२ करोड ८७ लाख आम्दानी गरेको छ ।