१४ मंसिर २०८१, शुक्रबार
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा हुने जुनसुकै प्रकृतिको हिंसाको अनुसन्धानमा प्रहरीले लापरवाही गर्न नहुने बताएका छन् ।
एशियाली विकास बैँक, नेपाल प्रहरी अपराध अनुसन्धान विभाग र महिला तथा बालबालिका निर्देशनलायले मंगलबार आयोजना गरेको ‘लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समितिको परिमार्जित कार्य सञ्चालन-२०७५’ सम्बन्धी गोष्ठीमा बोल्दै खनालले यस्तो बताएका हुन् ।
महिला बालबालिका हिंसाको अनुसन्धानमा शून्य सहनशीलता अपनाउनुपर्ने बताउदै उनले भने, ‘अनुसन्धानमा जानीजानी लापरवाही गर्ने कुरा प्रहरी सङ्गठनका लागि क्षम्य हुँदैन।’
महानिरीक्षक खनालले गत महीना प्रहरीले समाजमा हुने अपराध नियन्त्रण गर्न ‘प्रहरी–समुदाय साझेदारी कार्यक्रम’ ल्याएको भन्दै यसको सफल कार्यान्वयन भए समाजमा हुने जुनसुकै प्रकृतिका हिंसामा कमी आउने विश्वास व्यक्त गरेका थिए।
उनले प्रहरीले महिला तथा बालबालिकामाथि हुने हिंसामा ८७ प्रतिशत सफल अनुसन्धान गरेको बताउँदै यसले मात्र अनुसन्धान पूरा नहुने स्पष्ट पारे । उनको भनाई थियो ‘९५ प्रतिशत नतिजा दिने गरी प्रहरीले काम गर्नुपर्छ ।’
प्रहरीबाट हुने हरेक किसिमका क्रियाकलापमा महिला सहभागितालाई प्राथमिकता दिएको बताउँदै उनले संयुक्त राष्ट्र सङ्घीय मिसनमा प्रतिनिधित्व हुने प्रहरी जनशक्तिमा महिलाको मात्र छुट्टै र मिसनको व्यवस्था गर्ने सोच प्रहरीले अगाडि बढाएको बताए ।