९ मंसिर २०८१, आईतवार
पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज तीन खेल हुदैछ । छैटौ चरणको खेल अन्तर्गत मनाङ र थ्रीस्टारले समेत विपक्षी माथि चुनौती पेश गर्ने तयारी गरेका छन् ।
ललितपुरको सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा बिहान ११ बजे हुने पहिलो खेलमा सिग्नेचर मनाङ मर्स्याङ्दीले जावलाखेल युथ क्लबसंग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगितामा शतप्रतिशत जित आत्मसाथ गरेको मनाङ सोही नतिजालाई कायम राख्ने लक्ष्यमा छ । तालिकाको अन्तिम तिर रहेको जावलाखेल मनाङलाई हराउँदै लिगमा अप्रत्यासित नतिजा निकाल्ने दाउमा रहको छ ।
शीर्ष स्थानको मनाङको ५ खेलबाट १५ अंक छ । जावलाखेल युथ क्लब ४ अंक सहित तालिकाको ११ औ स्थानमा छ । सोही मैदानमा दिउँसो साढे २ बजे हुने दोस्रो खेलमा हिमालयन शेर्पा र च्यासल युथ क्लब आमनेसामने हुनेछन् ।
स्टार खेलाडी अनुबन्धन गरेर अपेक्षा अनुसारको प्रर्दशन गर्न नसकेको च्यासलले उपाधि होडबाट बाहिर भएको घोषणा गरिसकेको छ । यद्वपी हिमालयन शेर्पालाई हराउँदै लिगको अंक तालिकामा सुधार गर्ने उसको उद्वेश्य प्रस्ट छ । सन्तुलित टिम सहित प्रतियोगिता खेल्न निस्किएको हिमालय शेर्पाले राम्रै नतिजा निकालिरहेको छ । शेर्पा १० अंक सहित छैटौ स्थानमा रहदाँ च्यासल ४ अंक सहित नवौ स्थानमा छ ।
आजै हुने तेस्रो खेलमा रुस्लान थ्री स्टार क्लबले सरस्वती युथ क्लबसंग प्रतिस्पर्धा गर्दैछ । खेल हलचोकस्थित एपीएफको मैदानमा दिउँसो साढे २ बजे सुरु हुनेछ । लिगको उपाधि दाबेदार क्लब थ्रीस्टारको लक्ष्य सरस्वतीलाई पराजित गर्दै शीर्ष स्थानको मनाङ माथि दबाब सिर्जना गर्नुहुनेछ ।
बिदेशी खेलाडीको प्रभावमा लिगमा अप्रत्यासित निकाल्न माहिर सरस्वती समेत थ्री स्टारलाई हराउँदै उपाधि होडको समिकरण प्रभावित पार्न चाहन्छ । थ्री स्टार १२ अंक सहित तालिकाको चौथो स्थानमा छ । सरस्वती ६ अंक सहित आठौ स्थानमा छ ।