४ पुष २०८१, बिहीबार
विगत लामो समयदेखि लुम्बिनी होटल संघ नेपाल र लुम्बिनी विहार बीचको विवाद समाधान भएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाको पहलमा ८ बुँदे सहमति गर्दै कार्यविधि बनेसँगै उत्पन्न विवाद समाधान भएको हो ।
लुम्बिनी विकास कोषको नेतृत्वमा लुम्बिनी होटल संघ, लुम्बिनी सांस्कृतिक नगरपालिका र जिल्ला प्रशासनको समेत संलग्नतामा होटल र विहारका विषयमा देखिएका समस्याहरु समाधान गर्ने गरी कार्यविधि तयार भएपछि उत्पन्न विवाद र असमझदारी अन्त्य भएको हो । लुम्बिनी क्षेत्रबाट प्रतिनिधित्व गर्ने रुपन्देही क्षेत्र न. ५ का प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेको उपस्थितीमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. लामा सहित होटल व्यवसायी, विहारका प्रतिनिधिहरुको बैठकले विवाद समाधान गर्दै कार्यविधि कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइएको छ ।
लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रहेका विहार गुम्बाहरुमा तीर्थयात्रीहरुलाई होटलमा जस्तै सुविधा दिएर राखेको जस्ता बिषयलाई लिएर लामो समयदेखि विवाद सृजना हुँदै आएको थियो । होटेल व्यवसायी र गुम्बा विहारको बिषयले अन्तर्राष्ट्रियस्तरमा समेत नकरात्मक प्रचार हुन नदिन कोषकै नेतृत्वमा लुम्बिनी विहार तथा तीर्थयात्री व्यवस्थापन कार्यविधि २०८१ तयार पारिएको हो ।
कार्यविधि कार्यन्वयनका सम्बन्धमा भएको छलफलमा प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेले लुम्बिनीमा गुम्बा विहार र होटल व्यवसायीविचको असमझदारीलाई कार्यविधि बनाएर हल गर्नु निकै सकारात्मक भएको बताए ।
दुई पक्ष बीचमा भएको सहमती पूर्ण रुपमा कार्यान्वयन गर्न लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. लामाले निर्देशन दिएका छन् । उनले आफू लुम्बिनीमा आध्यात्मिक वातावरण बनाउन दिनरात खटिएको बताउँदै लामो समयदेखि होटल व्यवसायी र गुम्बाविहारका विचको द्धन्द्ध अन्त्य गर्न सफल भएको बताए ।
यस्तै लुम्बिनी होटल व्यवसायी संघ नेपालका अध्यक्ष गोविन्द ज्ञवालीले गुम्बाविहार र होटल व्यवसायीविच भएको असमझदारी कार्यविधि बनेसँगै अन्त्य भएको बताए । उनले कार्यविधिको इमानदारीपूर्वक कार्यान्वयन गर्न आग्रह समेत गरे ।
कार्यविधिले गुम्बाविहारमा निश्चित संख्यामा भिक्षु, लामा भन्ते, आर्थिक अवस्था कमजोर भएका तीर्थयात्री र चन्दादाताहरुलाई मात्रै राख्ने र होटल व्यवसायीहरुले समेत गुम्बाविहारमा आएका धार्मिक तीर्थयात्रीहरुलाई आत्मिक स्वागत सत्कार गर्ने गरी कार्यविधि तयार पारिएको जनाइएको छ । छलफलमा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), कार्यकारी सदस्य श्याम रोक्का, बरिष्ठ निर्देशक ज्ञानिन राई, सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राई, भिक्षु वजिरा, लुम्बिनी होटल संघका बरिष्ठ उपाध्यक्ष लिलामणि शर्मा, महासचिव पुरुषोत्तम अर्याल लगायतको उपस्थिती थियो ।