राजनीतिक परिवर्तन भयो कर्मचारी सुध्रिएनन् – नेकपाका अध्यक्ष दाहाल

होमल्याण्ड खबर

२०७५ मंसिर १९ गते, बुधबार ११:१३ मा प्रकाशित

पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश विकासमा सबै दलको सहकार्य आवश्यक रहेको कुरामा जोड दिएका छन् ।

दशौं कपिलवस्तु महोत्सवको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले देशमा ठूला ठूला राजनीतिक परिवर्तन सबै दलको सहमती र सहकार्यबाट भएको भन्दै आर्थिक समृद्धिको नारालाई अगाडि बढाउनका लागि पनि सबै दलको सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

“देशमा ठूला ठूला परिवर्तन ल्याउन कम्युनिष्ट, कांग्रेस मिल्यौं, अब आर्थिक समृद्धिको लागि पनि सहकार्य गरौं प्रचण्डले भने , अबको १० बर्षमा देश संसारको नमुना बन्छ ।” देशमा राणा, राजा, पञ्चायत र राजा फालेर परिवर्तन आएपनि संस्कार फेर्न नसकिएको भन्दै उनले चिन्ता व्यक्त गरे ।

“ देश विकासमा मैले तीन महत्वपूर्ण पक्ष बाधक देखेको छु प्रचण्डले भावुक मुद्रामा भने, “पुराना ऐन कानुन, कर्मचारीको कार्यशैली र विगतको संस्कार ।” यी कुराले ठूला ठूला परिवर्तनलाई जनताले अनूभुति गर्न सकिरहेका छैैनन् ।

देशमा संविधान जारी हुनु, नेकपाले बहुमत प्राप्त गर्नु जस्ता उपलब्धी पाएर पनि जनताले त्यो अनूभूति गर्न नसक्नुमा कर्मचारीतन्त्रको कार्यशैली प्रमुख रहेको बताए । कर्मचारीको कार्यशैली परिवर्तन नगर्दासम्म जनताले कुनै पनि उपलब्धीलाई अनूभुती गर्न नसक्ने उनले बताए ।