२७ फाल्गुन २०८२, बुधबार
सहकारी रकम ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा लागेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको बयान ७ नम्बर इजालसमा हुने भएको छ। जिल्ला अदालत कास्कीमा नीतिज राईको इजलास रविको बयान हुने भएको हो।
गोला थुत्दा राईको इजलास परेको छ। बयानका लागि पूर्वउपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका लामिछानेलाई अदालत पुर्याइसकिएको छ।


पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम हिनामिना प्रकरणमा अभियोग दर्ता भएका रविसँगै कास्की प्रहरीको हिरासतमा पूर्वडिआइजी छविलाल जोशी, गीता पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङकोसमेत आजबाट बयान हुँदैछ।
पाँचै जनाको बयान सकिएपछि मात्रै थुनछेक बहस सुरु गरिने जिल्ला अदालत कास्कीले जनाएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार रवि, छविलगायत ४४ जनालाई प्रतिवादी बनाएर अभियोग दर्ता गरेको हो।
पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा मूल अभियोग पत्र, थप अभियोग पत्र र पूरक अभियोग गरेर कुल ६३ जनालाई प्रतिवादी बनाइएको छ। एक अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ ३ पैसा अपचलन गरेको पुष्टि भएकाले बिगो माग गरिएको छ।