२७ फाल्गुन २०८२, बुधबार
नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले विश्वमा प्रजातन्त्रको क्षयीकरण भइरहेको बताएका छन्।
सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संसारमा २०२४ मा ठूलाठूला प्रजातान्त्रिक देशहरुमा निर्वाचन भएको र सबै कुरालाई नियाल्दा प्रजातन्त्रको क्षय भइरहेको महसुस आफूले गरेको बताए।


उनले अमेरिकामा राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएको भन्दै ३५ वटाभन्दा बढी मुद्दा लागेको व्यक्ति राष्ट्रपति बन्नुले पनि प्रजातन्त्रको क्षय भइरहेको महसुस हुने बताए।
उनले लोकतन्त्रका लागि लडेको ६० वर्षभन्दा बढी भए पनि अझै लोकतन्त्र खतरामा छ भन्दा दुःख लाग्ने गरेको बताए।
उनले भने, ‘संसारमा ठूलो ठूलो प्रजातान्त्रिक देशहरुमा चुनाव भएको छ। आधाभन्दा बढी जनसंख्या भएका ठाउँहरुमा चुनाव भएको छ, यो २०२४ सालमा। अमेरिकामा कस्तो मान्छे चुनिएर आएको छ, हाम्रो सामुन्ने छ? संसारमा डेमोक्रेसीको क्षयीकरण भइरहेको छ। सुन्दाखेरी नमिठो लाग्छ। अहिले पनि लोकतन्त्रमाथि खतरा छ भन्ने कुरा भन्नु र सुन्नु परिरहेको छ।’
प्रथम राष्ट्रपति यादवले संसारमा मानव सभ्यतामा संकट निम्तिरहेको बताए।