भीम रावललाई एमालेले निकालेको होइन : शंकर पोखरेल

होमल्याण्ड खबर

२०८१ पुष १२ गते, शुक्रबार १३:१७ मा प्रकाशित

नेकपा एमालेका महासचिव शंकर पोखरेलले भीम रावललाई पार्टीबाट निकालिएको नभई आफैं निक्लिएको बताएका छन् ।

शुक्रबार प्रेस चौतारी नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पोखरेलले भने, ‘हरेक पार्टीका निर्णय र नीतिको विपक्षमा अभियान चलाएर हिँडेपछि पार्टी सदस्य हो भनिरहन मिल्छ र ? त्यस अर्थमा रावलजीलाई हामीले निकालेको होइन, आफैँ निक्लिएको हो भन्ने पर्दछ ।’

उनले रावल एमालेको मूल्य मान्यता र अनुशासनभित्र बस्न नसकेको बताए । संसदभित्रको संसदीय ह्विप उल्लंघन गरेकै दिनबाट रावलले एमाले छाडिसकेको पोखरेलले दावी गरे ।

महासचिव पोखरेलले रावल आफू नेतृत्वमा रहेको ठाउँमा अरूलाई जंगी शासन लगाउने तर आफू भने अनुशासनमा नबस्ने प्रवृत्तिको नेता भएको आरोप लगाए । उनले भने, ‘आफू जिम्मेवारीमा रहँदा जंगी अनुशासन लगाउने मान्छे, आफ चाहिँ जिम्मेवारीमा बस्नु पर्दैन ?’ एमालेले रावललाई सुध्रिने अवसर दिएपनि नसुध्रिएको पोखरेलको भनाइ थियो ।