२७ फाल्गुन २०८२, बुधबार
सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ठगी गरी आपराधिक लाभ लिएको मुद्दामा पोखरेललाई सोमबार पक्राउ गरी अनुसन्धान गर्न मोरङ अदालतले अनुमति दिएको हो ।
नेकपा एमालेका मोरङ जिल्ला सदस्यसमेत रहेका अनिलले एमबीबीएसमा नाम निकाल्ने भनेर ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप छ ।


सोही मुद्दामा अनुसन्धानको लागि प्रहरीले अदालतमा पक्राउ पुर्जीको अनुमति माग गरेको थियो । सोमबार दिउँसो पक्राउको लागि अदालतले अनुमति दिएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।
अदालतले अनुमति दिएसँगै पोखरेलको खोजी भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
उच्च अदालत विराटनगरले पोखरेलविरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन आदेश दिएको पत्र आइतबार मोरङ प्रहरीले बुझेसँगै अनुसन्धान अगाडि बढाएको थियो ।
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–५ का बौआलाल चौधरीले छोरी दीक्षालाई डाक्टर पढाउन विराटनगरमा घडेरी बेचेर पैसा दिएको बताएका छन् । छोरीको सपनालाई साकार बनाउन पैसा दिएको उनको दाबी छ ।
अनिलले एमबीबीएस अध्ययनका लागि नाम निकालिदिने भनेर ३८ लाख ८० हजार रुपैयाँ लिएको उनको आरोप छ ।