५ बैशाख २०८२, शुक्रबार
एमालेबाट निष्कासित भएपछि पहिलो पटक गृह प्रदेश सुदूरपश्चिम आएका भीम रावल शुक्रबार धनगढी विमानस्थलमा पुग्दा भेला भएका कार्यकर्ताहरूले प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध चर्का नाराबाजी गरेका छन् ।
विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै रावलले एमालेको ठूलै पङ्क्ति आफ्नो समर्थनमा आउने आशय व्यक्त गरेका छन् । एमाले कार्यकर्ताहरूको त तपाईंलाई समर्थन देखिएन नि भन्ने पत्रकारहरूको जिज्ञासामा रावलले भने, ‘हामी एकदमै आरम्भिक बिन्दुमा छौं । हेर्दै जानु होला के के हुन्छ ।
कहिलेकाहीँ हिमालमा सानो डल्लो लडेको देखिन्छ नि, त्यो अगाडि बढ्दै जाँदा हिमआँधीमा परिणत हुन्छ । त्यसैगरी यस अभियानमा हजारौँ हजार मानिसहरू सहभागी हुनेछन् ।’
एमालेमा पूर्व उपाध्यक्षसमेत रहेका रावललाई एमालेले निष्कासन गरेपछि उनी मातृभूमि जागरण अभियान नेपालमार्फत नयाँ पार्टी गठनको तयारीमा छन् ।
बिहीबार उनले अभियानको प्रारम्भिक खाकासमेत सार्वजनिक गरेका छन् । पार्टी संरचनाको आकार र नीतिबारे उनले विभिन्न समूहसँगको छलफलपछि तय हुने बताए ।