चितवनमा युवक कुट्ने प्रहरी निलम्बित

होमल्याण्ड खबर

२०८१ माघ ७ गते, सोमबार १४:१३ मा प्रकाशित

चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा सवारी जाँचका क्रममा युवकलाई कुटपिट गर्ने प्रहरी निलम्बित भएका छन् । कुटपिट गर्ने प्रहरीलाई निलम्बन गरी थप कारबाही प्रक्रिया अघि बढाइएको हो ।

माथिको पावर देखाएको’ भन्दै चेकिङमा खटिएका प्रहरीले युवकलाई लात्तीले हानेर कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो । त्यसपश्चात् प्रहरीले उनलाई कारबाहीका लागि छानबिन समिति बनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रका अनुसार ती असई गणेशस्थान बिटमा कार्यत बुद्धिबहादुर घर्ती भुजेल हुन् । उनले प्रहरी आचरणविपरीत काम गरेकाले निलम्बन गरिएको मिश्रले जानकारी दिए । उनका अनुसार घटना गत पुस १५ गतेको हो ।

कुटाइखाने व्यक्ति भरतपुरकै भोजाडतिरका भएको प्रारम्भिक सूचना छ । ती  व्यक्तिलाई खोज्ने काम भइरहेको चितवन प्रहरी प्रमुख मिश्रले बताए ।