सन्दीप लामिछानेमाथि क्यानको कारवाही, खेलमा प्रतिबन्ध

होमल्याण्ड खबर

२०८१ माघ ८ गते, मंगलवार १४:०१ मा प्रकाशित

नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारी र स्टार खेलाडी सन्दीप लामिछानेबीच असमझदारी एवं टकरावको अप्रिय स्थिति देखा परेको छ । एउटा फेसबुक स्टाटसलाई लिएर सन्दीप क्यानको ‘तीखो’ कारवाहीमा परेका छन् ।

विवादको सुरूवात जय ट्रफी एलिट कपबाट भएको हो । उक्त प्रतियोगितामा बागमती प्रदेशका टीम कप्तान थिए सन्दीप । प्रतियोगिताको चौथो खेल बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबबीच गत पुस २४-२५ मा भएको थियो । दोस्रो दिनको खेल बराबरीमा सकिएपछि सन्दीपले अम्पायरसँग ‘प्रोटेस्ट’ गरेका थिए ।

अम्पायरले खेल समाप्तिको घोषणा गरेसँगै सन्दीप मैदानबाहिरबाट आएर अम्पायरसँग आक्रोश व्यक्त गरेको टेलिभिजन लाइभमा देखिएको थियो । अर्को टीम (त्रिभुवन आर्मी) लाई फाइदा पुग्ने गरी अम्पायरले गलत समयमा खेल समाप्तिको निर्णय लिएको गुनासो उनले गरेका थिए ।

दोस्रो इनिङमा २०३ रनको कठिन लक्ष्य पछ्याइरहेको बागमती सकेसम्म कम विकेट गुमाएर खेल ‘ड्र’ गर्ने रणनीतिमा थियो । २८.४ ओभरमा पाँचौ विकेटका रूपमा शुभ कंसाकार आउट भएलगत्तै अम्पायरद्वय विनयकुमार झा र हिरालाल राउतले खेल समाप्तिको घोषणा गरे । दुवै टीम खेल जित्ने आशामा थिएनन्, तर विकेटलगत्तै खेल समाप्त हुँदा बागमतीलाई प्वाइन्टमा घाटा लाग्यो ।