३० कार्तिक २०८१, शुक्रबार
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार पनि बस्दैछ ।
प्रस्तावित विधान संशोधनका विषयमा केन्द्रित कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बिहान ११ बजेपछि पार्टी कार्यालयमा बैठक बस्ने कांग्रेस मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।
पार्टीको विधान संशोधन मस्यौदा समितिका संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तावित विधानको मस्यौदा मंसिर ९ गतेको केन्द्रीय समितिको बैठकमा पेश गरेपछि केन्द्रीय सदस्यले आआफ्नो धारणा राख्दै आएका छन् ।
यसअघि बिहिबारको बैठकमा आमन्त्रित सदस्यसहित केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, दिलबहादुर घर्ती, डा. मीनेन्द्र रिजाल, शङ्कर भण्डारी, जीवन परियार, वीरबहादुर बलायर, पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा तथा केन्द्रीय आमन्त्रित सदस्य हसन अन्सारीले आआफ्नो धारणा राखेका थिए ।