भोलिदेखि काठमाडौंका यी क्षेत्रमा विद्युत् अवरुद्ध हुने

होमल्याण्ड खबर

२०८१ माघ ८ गते, मंगलवार १६:०३ मा प्रकाशित

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बुधवारदेखि १० दिनसम्म दैनिक पाँच घण्टा विद्युत् अवरुद्ध हुने भएको छ।

नेपाल विद्युत् प्राधिकरणले मंगलबार जारी गरेको सूचनाअनुसार कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रका क्षेत्रमा भूमिगत विद्युत् लाइन निर्माण कार्यका लागि विद्युत् आपूर्ति रोकिएको हो। बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म प्रभावित क्षेत्रका बासिन्दाले विद्युत् सेवाबाट वञ्चित हुनुपर्नेछ।

प्राधिकरणले माघ ९ गतेदेखि माघ १८ गतेसम्म विभिन्न वितरण फिडरहरूका क्षेत्रमा विद्युत् अवरुद्ध हुने जनाएको छ। माघ ९ गते कलंकी फिडर अन्तर्गत मालपोत कार्यालय वरिपरिका क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ। माघ १० गते कोटेश्वर फिडरअन्तर्गत तीनकुने पुलदेखि महादेव खोला पुलसम्मका क्षेत्र प्रभावित हुनेछन्।

त्यसैगरी, माघ ११ गते च्यासल, लुभू र इमाडोल फिडर अन्तर्गत बालकुमारी र वरिपरिका क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ। माघ १२ गते बलम्बु फिडर, माघ १३ गते कीर्तिपुरस्थित रोपवे फिडर र माघ १४ गते बालकुमारी पुल क्षेत्रका बासिन्दाले विद्युत् आपूर्ति बन्दको सामना गर्नुपर्नेछ।

माघ १५ देखि माघ १८ सम्म क्रमशः जोरपाटी, मातातीर्थ, शंखमुल, आलोकनगर लगायतका क्षेत्रमा पाँच घण्टा विद्युत् आपूर्ति बन्द हुनेछ। प्राधिकरणले भूमिगत वितरण प्रणाली निर्माण कार्य छिटो सम्पन्न गर्न उपभोक्ताहरूको साथ र सहयोगका लागि अपिल गरेको छ।