मेरी श्रीमतीको नाममा स्वीट्जरल्यान्डको बैंकमा ४१ करोड डलर छ भनेर प्रचार गरियो: प्रधानमन्त्री ओली

होमल्याण्ड खबर

२०८१ माघ १६ गते, बुधबार १३:३६ मा प्रकाशित

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणका लागि सरकारले काम गरिरहेको बताएका छन । आज बुधबार देखि काठमाडौंमा सुरु भएको प्रथम युवा कानुन व्यवसायी सम्मेलनको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले भ्रष्टाचार नियन्त्रण गर्नैपर्ने भन्दै आफूले थाहा पाएसम्म भ्रष्टाचार हुन नदिने र भए नियन्त्रण गर्ने पनि बताएका छन ।

प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण गर्नेकुरा स्टन्टबाजी नभएको पनि बताएका छन । उनले आफ्नो श्रीमती ९राधिका शाक्य० को नाममा स्वीट्जरल्यान्डको बैंकमा ४१ करोड डलर छ भन्ने भ्रमपूर्ण प्रचार गरिएको भन्दै आपत्ति व्यक्त गरेका छन ।

प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टाचार नियन्त्रण गर्नै पर्दछ । अहिलेको वर्तमान सरकार जसको नेतृत्व मैले गरिरहेको छु । यस सरकारले म भ्रष्टाचार गर्दिन, अरूलाई पनि गर्न दिन्न भनेको छ । थाहा पाएसम्म, जाने बुझेसम्म । कहाँ कहाँ भएको छ कहाँ कहाँ भएको छ । मुसाले कहाँ कहाँ प्वाल पार्छ थाहा पाए त हो । त्यसकारण थाहा पाएसम्म भ्रष्टाचार हुन दिन्न ।

भए नियन्त्रण गर्दछु । यो स्टन्टबाजी होइन ।’उनले अगाडि भने, ‘हुन त हिजो बिहान यसो फेसबुक खोलेर हेरेको हिन्दीमा एक जनाले भनिरहेका थिए, नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्यको नाममा स्विट्जरल्यान्डको बैंकमा ४१ करोड डलर छ । सुन्दा रिस उठ्नुपर्ने अब त रिस उठ्न पनि छोड्यो । मजा लाग्छ । यस्तो भन्नेहरू त धर्तीमा एकै खालका मान्छेहरु हुँदो रहेनछ क्या ।’