बिरामी बोकेको टाटा सुमो ओखलढुङ्गामा दुर्घटना, आमाछोरासहित तीन जनाको मृत्यु

होमल्याण्ड खबर

२०८१ माघ १७ गते, बिहीबार १३:५१ मा प्रकाशित

बिरामी बोकेको टाटा सुमो ओखलढुङ्गामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

मानेभञ्ज्याङ गाउँपालिका– ७ मा ना १ ज ६४२१ नम्बर टाटा सुमो दुर्घटना हुँदा आमाछोरासहित तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी कृष्ण खड्काले जानकारी दिए ।

मृत्यु हुनेमा खोटाङको केपिलागढी गाउँपालिका– ३ का ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– १२ की ४५ वर्षीया तारा गुरुङ रहेको डीएसपी खड्काले बताए ।

उनका अनुसार छोरा पुजन बिरामी भएपछि मायादेवीले बहिनी तारालाई सँगै लिएर काठमाडौं जाँदै थिइन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।