निर्माण व्यवसायीका जायज काममा हस्तक्षेप हुँदैन : मन्त्री महासेठ

होमल्याण्ड खबर

२०७५ मंसिर २३ गते, आईतवार ११:१८ मा प्रकाशित

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले निर्माण व्यवसायीका जायज काममा सरकारी हस्तक्षेप नहुने प्रतिबद्धता जनाएका छन् ।

नेपाल निर्माण व्यवसायी महासङ्घले ११औँ राष्ट्रिय निर्माण दिवसको अवसरमा आज यहाँ आयोजना गरेको प्रभातफेरी कार्यक्रममा उनले व्यवसायीका काममा सरकारी हस्तक्षेप हुन नदिने बताए । देश बनाउने जिम्मेवारी निर्माण व्यवसायीकै हो भन्दै मन्त्री महासेठले पूर्ण शक्तिका साथ देश निर्माणमा जुट्न व्यवसायीलाई अनुरोध गरे ।

“विगतमा व्यवसायी र सरकार दुवै पक्षबाट कमी कमजोरी भए होेलान्, अब त्यस्ता कमी कमजोरी सच्यााएर अघि बढ्नुको विकल्प छैन,” मन्त्री महासेठले भने । उनले २०५२ सालदेखि विभिन्न कारणले पूरा नभएका योजनाको म्याद थप गर्ने प्रक्रिया शुरु भइसकेको जानकारीे दिएका छन् ।

महासङ्घका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायलाई स्थापित पेशा बनाउन वर्तमान नेतृत्व क्रियाशील रहेको बताए । अहिलेको सरकारको नारा ‘समृद्ध नेपाल सुखी नेपाली’लाई साकार बनाउन महासङ्घ प्रतिबद्ध रहेको उल्लेख गर्नुहुँदै उनले निर्माणमैत्री वातावरण अहिलेको आवश्यकता भएको बताए । महासङ्घका उपाध्यक्ष आङदोर्जी लामा९एडी० ले भौतिक पूर्वाधारको निर्माणबिना समृद्ध नेपालको परिकल्पना गर्न नसकिने बताए । महासङ्घका महासचिव रोशन दाहालले सरकार र व्यवसायीबीचको सहकार्यबाट मात्र निर्माण क्षेत्रको विकास हुने बताए ।

उपमहासचिव टङ्कप्रसाद चौंलागाईले निर्माण दिवसको महत्वमाथि प्रकाश पारेका थिए । सो अवसरमा मन्त्री महासेठले महासङ्घको मुखपत्र ‘निर्माण समाचार’ को विमोचन गरे । प्रभातफेरी त्रिपुरेश्वर, थापाथली, माइतीघर, बबरमहल हुँदै अनामनगरस्थित महासङ्घको सचिवलाय पुगेर टुङ्गिएको थियो । रासस ।