२७ फाल्गुन २०८२, बुधबार
सर्लाहीको अन्तरजातिय विवाहको विषयमा मुछिएको भन्दै नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले गृहमन्त्री रमेश लेखक र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरमाथि छानबिन हुनुपर्ने माग गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सर्लाहीमा अन्तरजातीय विवाह गर्ने सत्यन्द्र कुमार राम (चमार) र नेहा रौनियारको विषयमा उनीहरूमाथि छानबिन हुनुपर्ने बताएका हुन् । ‘सत्यन्द्र राम र नेहा रौनियारको विवाहलाई सर्वोच्चले वैद्यता दिएको छ । तर, उक्त दम्पतीलाई मुम्बईबाट समेत पक्राउ गरेर ल्याएर यातना दिनका लागि अत्याचार गर्नका लागि निर्देशन दिने गृहमन्त्री, आईजीपी लगायतलाई छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारबाही गरियोस् भन्ने माग गर्दछु,’ उनले भने ।


यस अघि बिहीबार को संसद् बैठकमा पनि यो विषयमाथि चर्को बहस भएको थियो । सत्ता र प्रतिपक्ष दुवैतर्फका सांसदहरूले एक स्वरमा यस घटनाबारे ध्यानाकर्षण गराएका थिए ।