ओली सरकार ढालेर अर्को जनमुखी सरकार बन्ने अवस्था छैन : झलनाथ खनाल

होमल्याण्ड खबर

२०८१ माघ २८ गते, सोमबार १२:४७ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकार ढालेर अर्को जनमुखी सरकार निर्माण हुने अवस्था नरहेको बताएका छन् ।

विराटनगरमा आज बिहान सञ्चारकर्मीसँग उनले भने, ‘वामपन्थीहरू अब टाउको गनेर होइन, नीति तथा कार्यक्रमको आधारमा मिल्नुपर्छ, देश र जनताका पक्षमा देखिने गरी काम गर्नुपर्छ ।

आफ्नो पार्टीका तर्फबाट ल्याइएका नीति तथा कार्यक्रम देश र जनताका पक्षमा रहेको उनको जिकिर थियो ।

नेता खनालले दिगो विकाससहित समृद्धिको दिशामा मुलुकलाई लैजानका लागि आधुनिक कृषि प्रणाली र उद्योग क्षेत्रलाई प्राथमिकता दिनुपर्ने खाँचो औँल्याए ।

वर्तमान संविधानको सिंहावलोकन गर्नुपर्ने समय आएको उल्लेख गर्दै उनले सम्झौताका आधारमा ल्याइएको वर्तमान संविधानमा भएकाले आवश्यकताअनुसार संशोधन गर्न सकिने बताए ।