९ मंसिर २०८१, आईतवार
एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा ललितपुर प्याट्रिएटस विजयी भएको छ । यो ललितपुरको पहिलो जित हो । ललितपुरले चितवन टाइगर्सलाई ११ रनले पराजित गरेको हो । ललितपुरले दिएको १४४ रनको लक्ष्य पच्छ्याउने क्रममा चितवनले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३२ रनमात्र बनाउन सक्यो। चितवनका लागि दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै ४१ रन बनाएपनि जित दिलाउन सकेनन् । त्यस्तै, चितवनका लागि कप्तान पृथु बास्कोटाले २६ रन बनाउँदा भिम सार्कीले उत्कृष्ट ब्याटिङ गर्दै ९ बलमा २१ रन बनाएका थिए । त्यस्तै, जर्ज स्कटले अविजित १८ रन बनाएका थिए ।
बलिङतर्फ सन्दीप लामिछानेले ३ विकेट लिए । ४ ओभर बलिङ गरेका सन्दिपले २६ रन खर्चेर तीन विकेट लिएका हुन् । सन्नी पटेलले २ विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १४३ रन बनाएको थियो । ललितपुरका लागि सन्दिप जोराले उत्कृष्ट ब्याटिङ गरे । उनले ८ बलमा २५ रन बनाएका थिए । उनले अविजित २५ रन बनाउने क्रममा तीन छक्का र एक चौका प्रहार गरेका थिए । त्यस्तै, सोनु तामाङले पनि राम्रो प्रदर्शन गर्दै ललितपुरको इनिङ्स सम्हालेका थिए । उनले अविजित ३५ रन बनाएका थिए । २४ बलको सामना गरेका सोनुले तीन छक्का र एक चौका प्रहार गरेका थिए ।