नेपाली विद्यार्थीलाई कुटपिट गर्दै होस्टेलबाट जबर्जस्ती निकाल्यो

होमल्याण्ड खबर

२०८१ फाल्गुन ५ गते, सोमबार १६:०१ मा प्रकाशित

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीलाई कुटपिट गर्दै होस्टेलबाट निकालिएको छ। उक्त विश्वविद्यालयमा तेस्रो वर्षमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालले होस्टलमा आत्महत्या गरेको विषयमा नेपाली विद्यार्थीहरूले उजुरी दिएपछि घटनाले उग्ररुप लिएको हो। आत्महत्या गरेकी लम्साल विश्वविद्यालयकै अर्का विद्यार्थीको प्रेम सम्बन्धमा रहेको पाइएको र आत्महत्याको कारण स्पष्ट नभए पनि, प्रेमसम्बन्धमा आएको खटपाट हुन सक्ने अनुमान गरिएको एएनआईले उल्लेख गरेको छ।

नेपालका विद्यार्थीहरूले विश्वविद्यालय प्रशासनबाट घटनाको स्पष्ट जानकारी नपाएको गुनासो गरेका छन्। जानकारी माग्दा उचित जवाफ नपाएको भन्दै उनीहरूले क्याम्पसमा विरोध प्रदर्शन थालेका थिए।

विश्वविद्यालयले विद्यार्थीहरू बीच तनाब बढेको भन्दै उनीहरूलाई आफ्नै देश फिर्ता पठाउने निर्णय गरेको एएनआईमा उल्लेख छ। ‘परिस्थिति हेरेर हामीले नेपाली विद्यार्थीहरूलाई घर फर्काएका छौं। अहिले अवस्था शान्त छ’ विश्वविद्यालयले जनाएको छ।