१० बैशाख २०८२, बुधबार
भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्सालको आइतबार साँझ होस्टेल कोठामा शव फेला परेपछि क्याम्पसमा तनाव उत्पन्न भएको छ ।
प्रारम्भिक अनुसन्धानले उनलाई आत्महत्या गरेको देखाए पनि प्रकृतिका भाइले एक पुरुष विद्यार्थीबाट ब्ल्याकमेल भएको आरोप लगाएका छन् । सोही विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ, र आत्महत्या दुरुत्साहन अन्तर्गत उजुरी पनि दर्ता गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । पक्राउ परेका व्यक्ति साेही विश्वविद्यालयमा अध्ययनरत हुन् ।
घटनापछि क्याम्पसमा रहेका धेरै नेपाली विद्यार्थीहरूले विश्वविद्यालय प्रशासनले प्रकृतिले पहिले नै दिएको गुनासोमा कुनै कारबाही नगरेको भन्दै विरोध प्रदर्शन गरेका छन् । उनीहरूले केआईआईटीको अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयमा प्रकृतिले आफूलाई साथीसँग भएको दुर्व्यवहारबारे जानकारी गराए पनि प्रशासनले गम्भीरता नदेखाएको आरोप लगाएका छन् ।
स्थिति नियन्त्रणमा लिन केआईआईटी प्रशासनले सम्पूर्ण नेपाली विद्यार्थीलाई तुरुन्त क्याम्पस खाली गरी घर फर्किन निर्देशन दिएको छ । तर, विद्यार्थीहरूले परीक्षा नजिकै आइरहेका बेला कुनै व्यवस्था नगरी जबरजस्ती पठाइएको भन्दै आपत्ति जनाएका छन् ।
प्रहरी टोलीले घटनास्थलको जाँच गरेर प्रकृतिको शव पोस्टमार्टमका लागि राजधानी अस्पताल पठाएको छ र पोस्टमार्टमपछि शव परिवारलाई हस्तान्तरण गरिने बताइएको छ ।
केआईआईटी प्रशासनले भने घटनाको छानबिन भइरहेको र विद्यार्थीहरूको सुरक्षाका लागि आवश्यक सबै कदम चालिने बताएको छ । दिल्लीस्थित नेपाली दूतावासले नेपाली विद्यार्थी निकालिएको विषयमा समस्या समाधान भइरहेको बताएको छ ।
दिल्लीस्थित नेपाली दूतावासका उच्च अधिकारीले भने, ‘हामी विश्वविद्यालयको सम्पर्कमा छौँ । समस्या समाधान हुँदै छ । नेपाली विद्यार्थी आत्तिनुपर्ने अवस्था छैन । केही क्षणपछि विश्वविद्यालय र दूतावासले विज्ञप्ति जारी गर्दै छन् ।’