नेपाल बैंकद्वारा विद्यालयलाई ३ लाख सहयोग

होमल्याण्ड खबर

२०७५ मंसिर २४ गते, सोमबार १२:१४ मा प्रकाशित

नेपाल बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत काठमाडौ कालीमाटीस्थित नील वाराही उच्च माध्यमिक विद्यालयलाई ३ लाख आर्थिक सहयोग प्रदान गरेको छ । त्यस विद्यालयमा करिब २४० को हाराहारीमा रहेका असहाय अनाथ विद्यार्थीलाई किताव कापी–कलम, झोलालगायतका पठन सामग्री उपलब्ध गराउने प्रयोजनार्थ उक्त रकमको चेक बैंकका नायव कार्यकारी अधिकृत राजुनाथ खनालले विद्यालयका प्राचार्य डा. जानुका नेपाललाई विद्यालयमा आयोजित एक संक्षिप्त समारोहकाबीच हस्तान्तर गरे ।

सो अवसरमा बैंकका नायव कार्यकारी अधिकृत राजुनाथ खनालले नेपाल बैंक लिमिटेड, बैंकिङ आदतलगायतका विषयमा संक्षिप्त जानकारी सहित बैंक यस विद्यालयका अनाथ असहाय विद्यार्थीलाई सहयोग गर्न पाएकोमा गौरवान्वित भएको उक्त सहयोग अनाथ असहाय विद्यार्थीहरूप्रति सद्भाव तथा प्रेमको संकेत मात्र भएको र आगामी दिनमा समेत यस्तो सहयोग विस्तार गरिने प्रतिवध्दता प्रकट गरे ।

सो अवसरमा नीलवाराही उच्च माध्यमिक विद्यालयका प्राचार्य डा. जानुका नेपालले नेपालको शिक्षा निजी र सामुदायिक विद्यालयमा २ खालको रहेको, सामुदायिक विद्यालयमा अध्ययनरत असहाय अनाथ विद्यार्थीलाई सहयोग जुटाउन अप्ठेरो परिरहेको परिस्थितिमा नेपाल बैंकले उक्त सहयोग जुटाएकोमा हार्दिक आभार प्रकट गर्दै उक्त सहयोगको पूर्ण सदुपयोग गरिने प्रतिबद्धता प्रकट गरे । सो अवसरमा नेपाल बैंक लिमिटेडका प्रेस संयोजक मुकुन्द अर्यालले असहाय अनाथका पछाडि कैयन् अदृश्य सहयोगी हातहरू रहने हुँदा अनाथ असहायले कुनै हीनभावना नपाली सधैं असल, लगनशील विद्यार्थी बन्ने प्रयत्न गर्नुपर्ने, सबै खासगरी आफूसँग केही हुने विद्यार्थीले स–सानो बचत गर्ने आदत विकास गरी त्यसबाट सहयोग गर्ने अभ्यास गर्नुपर्ने बताए ।