शिवरात्रि सुरक्षा : पशुपतिमा साढे चार हजार प्रहरी परिचालन, राष्ट्रपति पनि हिँडेरै जाने

होमल्याण्ड खबर

२०८१ फाल्गुन १३ गते, मंगलवार १०:२९ मा प्रकाशित

शिवरात्रिमा पशुपति क्षेत्रमा सुरक्षा प्रबन्ध र ट्राफिक व्यवस्थापनका लागि साढे चार हजार प्रहरी परिचालन गरिएका छन् ।

बुधबार (१४ फागुन)मा परेको शिवरात्रिका लागि जिल्ला प्रहरी परिसर काठमाडौंबाट तीन हजार ५११ र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट ८९० गरी कुल चार हजार ४०१ सुरक्षाकर्मी परिचालन गरिएको हो ।

शिवरात्रि नजिकिएसँगै साधुसन्त आउने क्रम बढेको छ । यस वर्ष करिब एक हजार पाँच सय साधुसन्त पशुपतिनाथ क्षेत्रमा आउने अनुमान गरिएको छ ।

दुई सयजना नागा बाबा हुनेछन् । यसपटक भारतमा महाकुम्भसमेत चलिरहेको हुँदा साधुसन्तको संख्या कम हुने अनुमान गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार परिसरमातहत खटिएका सुरक्षाकर्मी मन्दिर दर्शनका लागि आउने दर्शनार्थीको सुरक्षामा खटिनेछन् भने ट्राफिक प्रहरीमातहत खटिएका सुरक्षाकर्मी यातायातका साधन व्यवस्थापनमा केन्द्रित हुनेछन् । ‘महाशिवरात्रिको सुरक्षाको सबै प्रबन्ध पूरा भएको छ ।

परिसरमातहत सुरक्षामा मात्रै ३५ सयभन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएका छन् । दर्शनार्थीलाई ढुक्कसँग मन्दिरको दर्शन गर्ने प्रबन्ध गरिएको छ ।

सुरक्षा व्यवस्था चुस्त पारिएको छ,’ परिसर प्रवक्ता एसपी अपिलराज बोहराले भने, ‘यातायात व्यवस्थापनका लागि ट्राफिकबाट अलग्गै जनशक्ति परिचालन गरिएको छ ।’

प्रहरीका अनुसार पर्वभर बर्दीसहितका र सादा पोसाकका सुरक्षाकर्मी तीन सिफ्टमा परिचालन गरिएका छन् । त्यसबाहेक ‘स्ट्राइकिङ’ र ‘मोबाइल’ टोलीले पनि सुरक्षा दिनेछ ।

यस प्रयोजनमा मात्रै ७४ प्रहरी खटिएका छन् । त्यस्तै, सम्भावित दुर्घटना रोक्न प्रहरीलाई ‘रिजर्भ’मा पनि राखिएको छ । यस प्रयोजनमा १३५ सुरक्षाकर्मी ‘स्ट्यान्ड बाई’ राखिएको छ ।

त्यस्तै, सुरक्षा प्रबन्ध चुस्त तुल्याउन ड्रोन र सिसिक्यामेराबाट पनि भिडको निगरानी हुने र यस प्रयोजनमा ६ जनाको विशेष फोटोग्राफर टोली परिचालन गरिएको एसपी बोहराले बताए ।