प्रधानमन्त्रीको विज्ञ सल्लाहकारमा अग्नि खरेल नियुक्त

होमल्याण्ड खबर

२०८१ फाल्गुन २२ गते, बिहीबार ११:३४ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीको विज्ञ सल्लाहकारमा अग्नि खरेल नियुक्त भएका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले एमाले स्थायी कमिटी सदस्य खरेललाई विज्ञ सल्लाहकारमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

पूर्वकानुनमन्त्रीसमेत रहेका खरेल यसअघि २०७४ सालमा प्रधानमन्त्री ओलीकै पालामा महान्यायाधिवक्ता नियुक्त भएका थिए । २०७४ फागुन ८ गते महान्यायाधिवक्ता नियुक्त भएका खरेलले २०७७ चैत ६ गते राजीनामा दिएका थिए ।

प्रतिनिधिसभा विघटनका विरुद्ध सर्वोच्च अदालतमा सरकारका तर्फबाट राम्ररी प्रतिरक्षा गर्न नसकेको भन्दै प्रधानमन्त्री ओली असन्तुष्ट भएपछि उनले राजीनामा दिएका थिए ।

झापा गौरादहका खरेल ओली नेतृत्वकै सरकारमा कानुनमन्त्री थिए । खरेल पहिलो संविधान सभाका एमालेको समानुपातिक कोटाबाट सांसद बनेका थिए भने दोस्रो संविधान सभामा उनलाई मन्त्रिपरिषद्ले मनोनयन गरी सभासद बनाएको थियो ।

खरेल २०४२ सालदेखि कानुनी क्षेत्रमा संलग्न रहँदै बार एसोसिएसनका महासचिव समेत भइसकेका व्यक्ति हुन् ।