२७ फाल्गुन २०८१, मंगलवार
प्रधानमन्त्री केपी शर्मा ओलीले विद्वान पुर्खाको देशका नागरिकले विदेश गएर काम गरिरहेको टिप्पणी गरेका छन् ।
सोमबार काठमाडौंमा आयोजित राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ मा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘विद्वान पुर्खाको देशका नागरिकले विदेश गएर काम गरिरहेका छन् । यहाँ विकास पनि गर्नु छ, मान्छे विदेश गइरहेका छन् । समयको मागलाई सम्बोधन गरेर अगाडि बढ्नुपर्छ ।’
उनले थपे, ‘निर्माण व्यवसायको क्षेत्रमा अहिले २० लाख मान्छे चाहिएको छ । तर, युवाहरु पलायन भइरहेका छन् । यसले यहाँ काम गरेर चल्दैन भनेर बुझाउँछ । काम गरेर जिविका चल्ने अवस्था पनि बनाउनुपर्यो ।’
प्रधानमन्त्री ओलीले काम गरेर परिवारको खर्च धानेर बचत गर्ने आर्कषक रोजगारीको आवश्यकता भएको बताए ।
साथै उनले हरेक मान्छेले जागिर खोजेर मात्र नहुने र आफैं उद्यमी बन्नतर्फ पनि लाग्नुपर्ने बताएका छन् । आन्तरिक रोजगारी प्रवर्द्धनले नेपालको अवस्था र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने उनको भनाई छ । ‘आकाशबाट रोजगारी प्रवर्द्धन हुँदैन । उद्यमशिलताको विकासले हरेक मान्छेले जागिर खोजेर भएन, उद्यमी बन्न पनि लाग्नुपर्छ ।’ उनले भने ।