पोखराद्वारा विराटनगरलाई ८५ रनको झिनो लक्ष्य

होमल्याण्ड खबर

२०७५ मंसिर २५ गते, मंगलवार ११:०४ मा प्रकाशित

ओपनिङ ब्याट्म्यान रिचार्ड लेभि र कप्तान काइल कोइट्जरको ब्याटिङ चल्न नसकेपछि पोखरा राइनोजले विराटनगर वारियर्सलाई ८५ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको ईपीएलको खेलमा पोखराले २० ओभर पूरा खेल्दै ७ विकेट गुमाएर ८४ रन मात्रै बनाउन सक्यो ।

विराटनगरका बलरले कसिलो बलिङ गरेपछि पोखराका ब्याट्सम्यान छोटो योगफलमा समेटिएका थिए । पोखराका लागि पाउल कौलिनले २० रन र ३५ बल खर्चेका राजेश पुलामि मगरले १७ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न नसक्दा विराटनगरले ८५ रनको छोटो लक्ष्य पाएको हो ।

टस जितेर पहिलो फिल्डिङ गर्ने निर्णय गरेका विराटनगर वारियर्सका कप्तान पारस खड्काको निर्णय सहि सावित गर्दै पाल भान मेकेरेन र भान डेर मेरवेले उत्कृष्ट बलिङ गर्दै क्रमशः ३ र २ विकेट लिए ।

त्यस्तै, करण केसीले ४ ओभर बलिङ गर्दै १४ रन खर्चेर एक विकेट लिए । त्यस्तै,  स्मीथ पटेलले ४ ओभर पूरा बलिङ गर्दै एक विकेट लिए ।
ईपीएलमा भएका ६ खेलमध्ये सबैभन्दा छोटो योगफलमा समेटिएको पोखराले यसअघि आफ्नो पहिलो खेलमा भैरहवा ग्लाडियटर्सलाई २१६ रनको लक्ष्य दिएको थियो ।