खोलाले बगाएर मृत्यु भएका बालबालिकाको परिवारलाई गाउँपालिकाको ५० हजार राहत

होमल्याण्ड खबर

२०८१ फाल्गुन ३० गते, शुक्रबार १५:५६ मा प्रकाशित

ताप्लेजुङको मैवाखोला गाउँपालिकाले खोलाले बगाएर मृत्यु भएका दुई बालबालिकाका परिवारलाई जनही नगद ५० हजार रुपैयाँका दरले राहत रकम उपलब्ध गराएको छ ।

मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार गत असोज १८ गते मैवाखोलाले बगाएर मृत्यु भएका पालिकाको वडा नं २ खानीका १२ वर्षीय ऐतमाया शेर्पा र ११ वर्षीय सन्देश बराइलीको परिवारलाई उक्त राहत रकम दिइएको हो।

पालिकाको विपद् व्यवस्थापन कोषबाट उक्त रकम ऐतमाया र सन्देशका परिवारलाई हस्तान्तरण गरिएको पालिकाले जनाएको छ । खानीटोलका रिञ्जे शेर्पाको छोरी ऐतमाया र सञ्चहाङ बराइलीका छोरा सन्देश मैवाखोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएकोमा खोजतलासका क्रममा उनीहरु दुबै जना मृत भेटिएका थिए ।

यता, गाउँपालिकाले मृगौला पीडित पालिकाको वडा नं ४ का किपादोर्ची शेर्पालाई उपचारका लागि ५० हजार रुपैयाँ समेत सहयोग उपलब्ध गराएको छ । अध्यक्ष स्वास्थ्य सहयोग कोषमार्फत उक्त रकम उपलब्ध गराइएको पालिका अध्यक्ष वनेमले जानकारी दिए । पालिकाले अध्यक्ष स्वास्थ्य सहयोग कोषमार्फत यस्ता रोगीहरूलाई सहयोग रकम दिंदै आएको छ ।