जनकपुरमा हत्या गरिएका यादवको शव सडकमै राखेर प्रदर्शन

होमल्याण्ड खबर

२०८१ चैत्र २ गते, आईतवार १६:२१ मा प्रकाशित

होली खेल्ने क्रममा भएको विवादका क्रममा हत्या गरिएका युवाका आफन्त प्रदर्शनमा उत्रिएका छन् । आफन्तले प्रदर्शन गर्न थालेपछि जनकपुरको जलेश्वर सडकखण्ड समेत अवरुद्ध भएको छ ।

आफन्तले जनकपुरको जलेश्वर सडकखण्डमा मृतक १८ वर्षीय आशु यादवको शव राखेर प्रदर्शन गरेका हुन् । उनीहरूले घटनामा संलग्नहरूमाथि कडा कारबाहीको माग गरेका छन् ।

शनिबार साँझ होली खेल्ने क्रममा विवाद हुँदा जलेश्वरकै २१ वर्षीय धर्मेन्द्र महतोले यादवमाथि छुरा प्रहार गरेका थिए । प्रहरीले धर्मेन्द्रलाई पक्राउ गरिसकेको छ ।

तर, पीडितका आफन्तले महतोबाहेक अन्य पनि संलग्न रहेको भन्दै कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका हुन् ।