‘यौन व्यवसाय खोलौं’ भन्ने कांग्रेस सांसदलाई दुर्गा राईको प्रश्न- तपाईंको परिवारबाट आँट गर्नुहुन्छ ?

होमल्याण्ड खबर

२०८१ चैत्र ३ गते, सोमबार १३:५९ मा प्रकाशित

नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले महिलाहरुलाई आत्मनिर्भर बनाउन प्रोत्साहन गर्नुको साटो यौन व्यवसायमा सक्रिय गराउनु पर्छ भन्ने मनसाय संसदमै प्रकट गरिएको भन्दै आपत्ति जनाएकी छन् ।

आइतबार बसेको संसद बैठकमा नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले नेपालमा पर्यटक बढाउन यौन व्यवसायलाई कानुनीय मान्यता दिनुपर्ने माग राखेका थिए । ‘मदिरा र मनोरञ्जन क्षेत्रको पनि विकास गर्नुपर्छ। मैले बारम्बार भन्ने गरेको छु, यौन व्यवसायलाई पनि व्यवसायीकरण गरौं। जसले यो मुलुकमा पर्यटकको संख्या बढाउनेछ,’ उनले भनेका थिए, ‘धार्मिक पर्यटकहरूले खर्च कम गर्छ। साहसिक पर्यटक थोरैमात्र हुन्छन्। संसारमै सबैभन्दा धेरै पर्यटक भनेको मनोरञ्जन क्षेत्रको लागि हो। त्यसलाई आकर्षण गर्न सकियो भने यो मुलुकमा आर्थिक विकास हुन्छ। विपक्षीले यी कुरा उठाइदिएको भए कति काइदा हुन्थ्यो।’

यस अभिव्यक्तिप्रति आज बसेको संसदमा बैठकमा सांसद राईले आपत्ति जनाएकी हुन् । उनले सांसद घिमिरेलाई आफ्नै परिवारबाट सुरु गर्ने आँट राख्न चुनौती दिएकी छन् ।

‘यस्ता विचारले मर्यादित समाजलाई अराजकतातिर पुर्याउँछ । यो भनाई रेकर्डबाट तत्काल हटाउन सभामुखबाट रुलिङको माग गर्दछु ।’ उनले भनिन्, ‘सम्बन्धित माननीयलाई आग्रह पनि गर्न चाहन्छु, त्यस्तो कार्य गर्न आफ्नो परिवारबाट आँट गर्नुहुन्छ ?’