९ मंसिर २०८१, आईतवार
भूकम्पपछिको पुनर्निर्माणमा कार्यरत संस्थाका प्रतिनिधि, प्रतिनिधिसभा र प्रदेशसभा सदस्य, स्थानीय निकायका जनप्रतिनिधि र नागरिक समाजलगायतले पुनर्निर्माणमा स्थानीय सरकारको सहभागिता आवश्यक हुने बताएका छन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय योजना कार्यान्वयन एकाईअन्तर्गतको जिल्ला एकाईले आज गोदावरीमा आयोजना गरेको ‘भूकम्पपछिको पुनर्निर्माण र पुनस्र्थापनासम्बन्धी अभिमुखीकरण समीक्षा गोष्ठी’ कार्यक्रमका सहभागीले प्राधिकरणले स्थानीय सरकारसँग समन्वय बढाउँदा कामले गति लिने बताएका हुन्।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले स्थानीय तहसँग प्राधिकरणले समन्वय बढाउन चाहेको बताए। प्राधिकरणले स्थानीय तहसँग सम्झौतापत्रमा हस्ताक्षर गरेर नै सहकार्य गरिरहेको छ। प्राधिकरणले स्थानीय तहमा नै हाजिर गर्ने गरेर प्राविधिक र सामाजिक परिचालक पठाउने तयारी गरेको छ।
प्राधिकरण सीमित समयका लागि भए पनि पछिसम्म त्यहाँ रहने भनेको जनप्रतिनिधि नै हो। सांसद पम्फा भुषालले नगरका भित्री भागमा बसोबास गर्दै आएका भूकम्पपीडितका समस्या फरक रहेको बताइन्।
सांसद कृष्णलाल महर्जनले कानून जनतालाई अप्ठेरो बनाउन नभएर सहज बनाउन भएको बताए। सांसद नवराज सिलवालले पुनर्निर्माणको काममा भइरहेको ढिलाइले गर्दा जनताले दुःख पाइरहेको बताए। महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले स्थानीय सरकारसँग त्यस क्षेत्रमा भएका सबै पुनर्निर्माणका काममा समन्वय गर्नुपर्ने आवश्यकता औँलाए ।
ललितपुर महानगरपालिकाका वरिष्ठ इञ्जिनीयर हरिशचन्द्र लामिछानेले लाभग्राहीले प्रबलीकरणलाई सामान्य मर्मतका रुपमा मात्रै बुझिरहेको बताए ।