सगरमाथा संवादलाई विशेष बनाउन प्रधानमन्त्रीको निर्देशन

होमल्याण्ड खबर

२०८१ चैत्र ५ गते, बुधबार १६:४९ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवादलाई विशेष बनाउन निर्देशन दिएका छन् । प्रधानमन्त्रीको अध्यक्षतामा बसेको निर्देशक समितिको पहिलो बैठकमा उनले संवादलाई विशेष बनाउनेगरी अघि बढ्न भनेका हुन् ।

‘सबै क्षेत्रको सहभागिता गराएर कार्यक्रमको तयारी र व्यवस्थापन हरेक हिसाबले उत्कृष्ट हुनुपर्छ,’ प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको बैठकमा कार्यक्रमको समग्र व्यवस्थापन, रुपरेखा, विदेशी राष्ट्रप्रमुख तथा सरकार प्रमुखसहित अतिथिहरूको निमन्त्रणा, विज्ञहरूको सहभागिता, सद्भावना दूतको नियुक्ति र निजी क्षेत्रसँगको सहकार्यबारे छलफल भएको छ ।

सगरमाथा संवादका लागि प्रधानमन्त्री ओलीको अध्यक्षतामा निर्देशक समिति छ । त्यसको व्यवस्थापन समितिको नेतृत्व  परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको छ  भने वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी व्यवस्थापन समितिका सहध्यक्ष छन् ।

सरकारले संवाद कार्यक्रमका लागि छिमेकी मुलुक भारत, चीनसहित विभिन्न मुलुकका राष्ट्रप्रमुख र सरकार प्रमुखसहितलाई विशेष अतिथिका रुपमा आमन्त्रण गरिसकेको छ । सरकारले पहिलोपटक जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्यलाई केन्द्रमा राखेर हरेक दुई वर्षमा यस प्रकारको विश्वव्यापी संवाद आयोजना गर्न लागेको हो।