प्रतिनिधिसभा बैठक बस्दै,यस्तो छ कार्यसूची

होमल्याण्ड खबर

२०८१ चैत्र १६ गते, आईतवार १०:५९ मा प्रकाशित

संघीय संसदअन्तरगतको प्रतिनिधिसभा सभा बैठक बस्दैछ। प्रतिनिधिसभा बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ।  प्रतिनिधिसभा बैठकमा बैंकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरि कार्यसूची छ।

बैठकमा पूर्वाधार विकास समितिका सभापति दिपक बहादुर सिंहले ‘जलस्रोत विधेयकसम्बन्धी समितिको प्रतिवेदन,२०८१ पेश गर्ने कार्यसूचीमा उल्लेख छ।

यसैगरी बैठकमा  महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने गर्नेछन्। मन्त्री सिंहले ‘मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१’ प्रस्तुत गर्नेछन्।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको “नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथी विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

 उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले “निकासी पैठारी (नियमन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसीच छ।

 ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले ‘नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख  छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने र ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।